ताप्लेजुङ र भोजपुरमा सुपथ मूल्य पसल सञ्चालन

ताप्लेजुङ र भोजपुरमा सुपथ मूल्य पसल सञ्चालन


ताप्लेजुङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यहाँ ‘सुपथ मूल्य पसल’ सञ्चालनमा ल्याएको छ । चाडपर्व लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

दशैँ, तिहार, नेपाल संवत्, छठ, चासोक तङ्नाम, ल्होसारलगायत चाडपर्वलाई ध्यानमा राखी माघ २ गतेसम्मका लागि सुपथ मूल्यमा खाद्य सामग्री बिक्री सुरु गरिएको कम्पनीकी प्रबन्धक सुधा थापा खत्रीले जानकारी दिए ।

उनका अनुसार स्टिम जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो पाँच छुट गरिएको छ । योसँगै स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकिलो ९४ बाट घटाएर ८९ तोकिएको छ ।

२५ किलोको एक प्याकेट जिरा मसिनो चामल दुई हजार दुई सय २५ मा पाइने कम्पनीले जनाएको छ । सोना मन्सुली चामलको मूल्य प्रतिकिलो रु ६५ बाट घटाएर ६० तोकिएको छ । जसअनुसार २५ किलोको मन्सुली चामलको प्याकेटलाई एक हजार पाँच सय पर्नेछ ।

खाद्य कम्पनीका अनुसार हाल ३४२ दशमलव पाँच क्विन्टल स्टिम जिरा मसिनो र एक सय ४१ दशमलव पाँच क्विन्टल सोना मन्सुली चामल मौज्दात छ । ताप्लेजुङ कारागारमा सिदाबापत आवश्यक चामलका लागि कम्पनीले ६० देखि ७० क्विन्टल सुरक्षित गरी बाँकी सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ ।

त्यसैगरी, भोजपुरमा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्य पसल सुरु गरेको छ । छुट मूल्यमा खाद्य सामाग्री बिक्री सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भोजपुरका प्रमुख सन्तोषकुमार साहले जानकारी दिए । प्रमुख साहका अनुसार उपभोक्ताले विगतको तुलनामा प्रतिकिलो पाँच रूपैयाँ छुट पाउनेछन् ।

प्रमुख साहले भने, ‘हामीसँग खाद्यान्न मौज्दात रहेकाले यस वर्ष चाडपर्वमा विगतमा जस्तै खाद्यान्न अभाव हुँदैन ।’ यहाँ हाल स्टिम जिरा मसिनो चामल र अरुवा सोना मन्सुली चामल गरी छ सय क्विन्टल चामल मौज्दात छ ।

छुट मूल्यअनुसार स्टिम जिरा मसिनो चामल प्रतिकेजी ८५ र अरुवा सोना मन्सुली चामल प्रतिकेजी ६० मा पाइने जनाइएको छ । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले विगतमा जस्तो खाद्यान्न लिन आउँदा लाइन बस्नुपर्ने बाध्यता नरहेको र चाडपर्व लक्षित सुपथ मुल्य पसलले भोजपुरवासीलाई सुविधा पुग्ने बताए ।

नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतका उपस्थितिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ पसल शुभारम्भ गरेको थियो । रासस