काठमाडौं – यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६. ३५ अंकले घटेको छ । शेयर लगानीकर्तामा ३ हजार अंकको मनोवैज्ञानिक त्रास देखिँदा यो साता नेप्से परिसूचक २९ सय अंकमा घुमिरह्यो । साताको ३ दिन कारोबार भएको नेप्सेमा २ दिन वृद्धि हुँदा पनि २६ अंकभन्दा बढीले घटेर बन्द भएको हो ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३४ अंकले घटेको थियो। त्यसपछि सोमबार र मंगलबार सार्वजनिक बिदाका कारण कारोबार भएन । यस्तै, बुधबार २.११ अंकले बढ्यो र बिहीबार ६.०१ अंकले बढ्यो । यससँगै साताको पहिलो कारोबार दिन आइतबार २९ सय ६६ अंकमा बन्द भएको नेप्से परिसूचक विहीबारसम्म आइपुग्दा २९ सय ७४ अंकमा पुगेर रोकियो । गत साताको बिहीबार परिसूचक ३ हजार अंकमा बन्द भएको थियो ।
यो साता कारोबार रकम भने गत साताको तुलनामा घट्यो । आइतबार २८ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो । बुधबार यो रकम घटेर १८ अर्ब ९० करोड रुपैयाँमा सीमित भयो । यस्तै, बिहीबार कारोबार रकम सामान्य बढेर १९ अर्ब १६ करोड रुपैयाँ पुगेको थियो।
समग्रमा यो साता नेप्सेमा ६६ अर्ब ८९ करोड रुपैयाँको कारोबार भयो। जबकि गत साता नेप्सेमा १ खर्ब २७ अर्ब रुपैयाँको कारोबार भएको थियो । यद्यपि यो साता ३ दिन मात्रै कारोबार भएको छ भने गत साता ५ दिन कारोबार भएको थियो । यस्तै गत साता २३४ अंकले बजार बढेको थियो ।
नेप्से परिसूचक बढ्न थालेसँगै क्यापिटल गेन ट्याक्स समेत बढ्न थालेको छ । साउन महिनाभरिमा शेयर लगानीकर्ताले सरकारलाई ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी कर तिरेको सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।
प्रतिक्रिया