काठमाडौं – शेयर लगानीकर्तामा ३ हजार अंकको मनोवैज्ञानिक त्रास देखिएको छ । गत साताको अन्तिम कारोबार दिन परिसूचक बढेर ३ हजार अंकमाथि पुगेको थियो । त्यसयता लगानीकर्तामा मनोवैज्ञानिक त्रास देखिँदा आइतबार ३४ अंक घटेर सो बिन्दुबाट ओर्लिएको नोपल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पुनः ३ हजार अंकको बिन्दु पार गर्न नसकेको हो ।
यो साताको आइतबार परिसूचक ३४ अंकले घट्यो । त्यसयता दुई कारोबार दिन बन्द रहेर बुधबार खुलेको बजार २ अंकले बढ्यो । तर आज साताको अन्तिम कारोबार दिन विहीबार पनि परिसूचकमा उल्लेख्य वृद्धि आउन सकेन । दिनभर तीव्र उतराचढाव ब्यहोरेको परिसूचक अन्तिममा ६.०१ अंक बढेर बन्द भयो ।
कारोबार अवधिमा परिसूचक बढेर ३ हजार १८ अंकसम्म पुगेपनि त्यसपछि निरन्तर ओरालो लागेर ६ अंकको वृद्धिमा अड्कियो । यससँगै परिसूचक २९ सय ७४ अंकमा पुगेर रोकिएको छ । यो साता लगानीकर्तामा ३ हजार अंकको मनोवैज्ञानिक त्रास देखियो । डेढ महिनाको अवधिमा परिसूचक एक हजार अंकभन्दा बढीले उकालो लागेको छ ।
यस्तो अवस्थामा २९ सय अंकको बिन्दु पार गर्नुअघि लगानीकर्ताले शेयर किन्ने वा नकिन्नेमा रुमल्लिएका छन् । आज परिसूचक सामान्य अंकले बढ्दा १३२ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै १०९ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर कायम छ । यसक्रममा ७ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज एसबीएल २०८३ डिबेञ्चरको शेयर मूल्यमा भने १० प्रतिशतको गिरावट आएको छ । यसक्रममा आज १९ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ४ करोड ९ लाख कित्ता शेयर किनबेच भयो । हिजो बुधबारको तुलनामा आज कारोबार रकम भने बढेको छ ।
परिसूचक बढेपनि लगानी समूह, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बीमा कम्पनी, अन्य र व्यापार समूहमा गिरावट आएको छ । यसबाहक जीवन बीमा, जलविद्युत, होटल र टुरिजम, वित्त, विकास बैंक र बैंक समूह भने बढेको छ ।
प्रतिक्रिया