काठमाडौं – नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताएका छन् ।पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा राजदूत हास्मीले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताएका हुन् ।
‘शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्राविधिक क्षेत्रमा पाकिस्तान र नेपालबीचको साझेदारीले असल प्रतिफल दिएको छ । डाक्टर, इञ्जिनियर, पत्रकार, विमान चालकलगायत सात हजारभन्दा बढी पाकिस्तानमा दीक्षित नेपालीले यो देशको प्रगतिका निम्ति आ–आफ्नो क्षेत्रबाट योगदान गरिरहेका छन्,’ पाकिस्तानी राजदूतले भने ।
पाकिस्तान र नेपाल जलवायु परिवर्तनका दुष्प्रभाव र त्यसको जोखिममा रहेका, दुवै देशका हिमालय क्षेत्र पारिस्थितिकीय रूपले कमजोर रहेका, हिमनदी पग्लने र हिमताल विष्फोट हुने जोखिम रहेको बताउँदै उनले दीर्घकालीन रूपमा त्यसले खाद्य र जल सुरक्षामा चुनौती थप्ने उल्लेख गरे ।
यो क्षेत्रका समुदायको हित र दिगो विकासका लागि ती चुनौतीलाई सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो । ‘नेपाल पाकिस्तानको निकटको मित्र हो, सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी विश्वास, सम्मान, हार्दिकता र समझदार हाम्रो सम्बन्धको विशेषता बनेको छ,’ उनले भने, ‘सर्वोच्च शिखर सगरमाथा र के टु, लुम्बिनी र तक्षशिला केही नमुना हुन् ।’
पाकिस्तान र नेपालले क्षेत्रीय एवं बहुपक्षीय मञ्चहरूमा साझेदारका रूपमा काम गर्दै आएका तथा त्यो साझेदारी संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा अझ विशेष रहेको राजदूत हास्मीको भनाइ छ ।
समारोहमा उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद, पूर्वउपप्रधानमन्त्री सिपी मैनाली, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, उद्यमी–व्यवसायी, समाजका प्रतिष्ठित व्यक्तित्वका साथै वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो । त्यस अवसरमा पाकिस्तानले सामाजिक–आर्थिक, प्राविधिक एवं सामरिक विकासमा गरेका प्रगति झल्कने वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया