‘अक्वा त्रिदेव’ ब्राण्डको पानीमा फिकल कोलिफर्म भएको पुष्टि : २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय

‘अक्वा त्रिदेव’ ब्राण्डको पानीमा फिकल कोलिफर्म भएको पुष्टि : २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय


काठमाडाैं – ‘अक्वा त्रिदेव’ व्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । यो तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो ।

निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोङ्गवु क्षेत्रबाट विभिन्न ५ वटा व्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमूना लिइएको थियो । यसरी लिइएको नमूना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

नमूना परीक्षणबाट मंगलबार रिपोर्ट प्राप्त भयो । प्राप्त रिपोर्टमा अक्वा त्रिदेव व्राण्डको पानीमा फिकल कोलिफर्म भेटियो प्रति १ सय मिलिलिटर नमूनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ । यो शून्य हुनुपर्छ ।

खाद्य प्राविधिक अनिल बस्नेत भन्छन्, ‘नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।’ कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो ।