काठमाडौं – राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर (केबी) उप्रेतीसहित नौ जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले १५ करोड ७७ लाख २ हजार ४० रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। मुद्दामा ८ जनालाई फरार प्रतिवादी बनाइएको छ। अध्यक्ष उप्रेती असार १९ गते पक्राउ परेका थिए।
सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, कोषाध्यक्ष मुकुन्दप्रसाद पाण्डे, सदस्यहरू बद्री महत, प्रकाशमान शाही खड्गी, अरुण भण्डारी, विष्णु प्रसाद रिमाल र राजु पौडेल फरार छन्।
उप्रेती समूहले हाम्रो सगरमाथा सहकारी एकीकृतपछि र अघि २०३ जना बचतकर्ताको रकम हिनामिना गरेको उजुरी परेको थियो। तीमध्ये ८ हजार रुपैयाँ बचतदेखि १ करोड २९ लाख रुपैयाँसम्म हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सञ्चालकहरू अरुण भण्डारी र विष्णुबहादुर रिमाल, लेखा समिति संयोजक राजु पौडेल तथा सोही संस्थाका कर्मचारी विश्वम्भर रिमाल विरुद्ध अभियोगपत्र दायर भएको छ। साथै, मर्जरपछिको संस्थाका सदस्य प्रकाशमान शाही खड्गीलाई समेत विपक्षी बनाइएको छ।
प्रतिक्रिया