ओलीलाई वर्षमानको प्रश्न : के देश बिचौलियाले चलाउन खोजेको हो ?


काठमाडाैं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले देश नेताहरुले नभई बिचौलियाहरुले चलाउने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताए । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ दिएको संकेत उनको थियो ।

पुनले आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन र भष्टाचारका मुद्धामा छानबिन र कारबाही अगाडि बढाएपछि काँग्रेस–एमाले मिलेको टिप्पणी गरे । उनले गिरिबन्धु ‘टी स्टेट’ र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि सरकार ढलेको बताए ।

प्रतिपक्षमा रहँदा काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गिरीबन्धुको विषय उठाएको र परिवर्तित सन्दर्भमा पनि एजेण्डा छाड्दैनौं भनेको चर्चा गर्दै अब के हुन्छ भन्नेमा काँग्रेसलाई पनि प्रश्न उठाइने जनाए ।

‘कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विभिन्न फाइलहरु खोज्ने, छानबिन गर्न गर्दा । त्यसै गरी नक्कली भुटानी शरणार्थीलगायत गिरिबन्धु टी स्टेटसम्मका कुराहरु उठ्दै गर्दा नेपाली काँग्रेसका महामन्त्रीज्यूहरुले हाम्रा एजेण्डाहरु छाड्दैनौं भन्नुभएको छ । त्यसमा निश्चिय पनि नेपाली काँग्रसलाई पनि प्रश्न हुन्छ’, उनले भने, ‘हिजो यही हाउसमा अपोजिशनमा हुँदा गिरिबन्दधु टी स्टेश गिरीबन्धु टी स्टेट भन्नुभएको थियो । यसमा के हुन्छ ? हामीले र नेपाली जनताले सही जवाफको अपेक्षा गरेका छन् ।’