१ खर्ब ३४ अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी


काठमाडौं – २०८१ जेठ मसान्तमा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई प्रवाह भएको १ खर्ब ३४ अर्ब ७६ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ। नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको देशको वित्तीय अवस्थाको विवरणमा सहुलियतपूर्ण कर्जा बापतको १ खर्ब ३४ अर्ब ७६ करोड कर्जाको बक्यौता बाँकी रहेको देखिएको हो।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४८ हजार १ सय ४२ ऋणीलाई प्रवाह भएकोमा ९२ अर्ब ६ कराेड बक्याैता रहेकाे छ। यसैगरी महिला उद्यमशील कर्जा अन्तर्गत ७३ हजार ३ सय ८५ महिला उद्यमीलाई प्रवाह भएकोमा ४० अर्ब ९२ करोड कर्जा बक्यौता रहेको रिपोर्टमा उल्लेख छ। सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १ सय २९ ऋणीको १ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ।