राष्ट्र बैंकद्वारा बजार निर्माता तथा बिक्री एजेन्टहरुको लाइसेन्स खारेज


काठमाडौं – नेपाल राष्ट्र बैंकले बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार एक सुचना जारी गर्दै २०८१ असार १ देखि लाइसेन्स खारेज गरिएको जानकारी दिएको हो।

हाल सरकारी ऋणपत्रहरुको निष्काशन, नविकरण, दोस्रो बजार कारोबार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेकोले लाइसेन्स खारेज गरिएकाे केन्द्रीय बैंकले उल्लेख गरेकाे छ। यसअघि नेपाल राष्ट्र बैंकले जारी गरेका सम्पूर्ण बजार निर्माता र बिक्री एजेन्टहरुको साे काम गर्दै आएका थिए।

विभागद्वारा जारी सूचनामा उल्लेख छ, ‘२०८१ असार १ देखि सरकारी ऋणपत्रहरुको निष्काशन, नविकरण, दोस्रो बजार कारोवार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेको सन्दर्भमा यसअघि नेपाल राष्ट्र बैंकले जारी गरेका सम्पूर्ण बजार निर्माता र बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी अनुरोध छ।’