क्यूआरबाटै मासिक १ लाख रुपैयाँसम्म अन्तरदेशीय भुक्तानी गर्न सकिने

क्यूआरबाटै मासिक १ लाख रुपैयाँसम्म अन्तरदेशीय भुक्तानी गर्न सकिने


काठमाडौं– अन्तरदेशीय भुक्तानी गर्दा अब क्यूआरबाटै मासिक १ लाख रुपैयाँसम्म गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले अन्तरदेशीय भुक्तानीमा क्यूआर कोडको प्रयोग गर्न मिल्ने गरी ‘विदेशी विनियम कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–०८०’ मा संशोधन गर्दै यो व्यवस्था गरेको हो ।

यो संशोधनले विद्युतीय कार्डबाहेक ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, अन्तरबैंक भुक्तानी र क्यूआर कोडजस्ता विद्युतीय प्रणालीमार्फत सटही, वस्तु तथा सेवा बिक्री गर्नेदेखि रेमिट्यान्स भित्र्याउन मिल्ने व्यवस्था पनि गरेको छ । सो संशोधनपछि नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको खातालगायत विद्युतीय प्रणाली प्रयोग गरी प्रतिदिन भारु १५ हजार र प्रतिमहिना भारु १ लाख जम्मा हुने गरी पारिश्रमिकबापत् सटही सुविधा पाउने भएका हुन् ।

यसैगरी नेपाली नागरिकले पनि भारत र भुटानमा क्यूआरमार्फत मासिक एक लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने राष्ट्र बैंकको परिपत्रमा भनिएको छ । एकीकृत परिपत्र–०८० मा दफा ९ थप गरेर राष्ट्र बैंकले भारत र भुटानमा कार्डबाहेकको विद्युतीय माध्यमार्फत मर्चेन्ट पेमेन्ट्सको सुविधा पाउने स्पष्ट पारेको छ ।

यसअघि कार्डमार्फत मात्रै दिइएको यस्तो सुविधा अब क्यूआरमार्फत दिन सुरु गरिएको हो । भारतबाट नेपालमा रेमिट्यान्स भित्र्याउन पनि अब क्यूआर कोड प्रयोग गर्न सकिने भएको छ । ‘यस्तो विप्रेषण रकम विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र नलिएका प्रचलित कानुनबमोजिम यस बैंकबाट बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूसँग सञ्चालन रहेको खाता वा वालेटमा जम्मा हुने गरी प्राप्त गरन् सकिनेछ,’ संशोधनमा भनिएको छ ।