काठमाडाैं – महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। बैंकले नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हाे।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था तत्कालिन मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठका छोरा तथा मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेश बाबु श्रेष्ठले विद्यालयका पदाधिकारीहरु र बैंक व्यवस्थापनको रोहबरमा छात्र सन्तोष कुमार मण्डललाई छात्रवृत्ति हस्तान्तरण गरेका हुन् ।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुऱ्याउने उद्देश्यले रु. पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ। उक्त कार्यक्रममा बोल्दै राजेश बाबु श्रेष्ठले नेपालमै अवसरहरु रहेको र देशमा उत्पादित जनशक्तिले आफ्नै देशमा रहेर देशको लागि योगदान पुऱ्याउनु पर्ने विचार व्यक्त गरे। साथै बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आगामी दिनहरुमा छात्रवृत्तिका कार्यक्रमहरुलाई परिमार्जित गर्दै शिक्षा क्षेत्रमा थप टेवा पुऱ्याउने कुरा बताए।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ। विगत देखिनै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले आम ग्राहकहरूकाे बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रतिक्रिया