काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले वार्षिक मौद्रिक नीतिमा लिएको सजगतापूर्वक लचिलो कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिएकाे छ।
केन्द्रीय बैंकको मौद्रिक नीतिमा भनिएको छ, ‘आर्थिक गतिविधिमा देखिएको सुस्तताको कारण बैंकिङ्ग प्रणालीमा कर्जा असुली प्रभावित भई निष्क्रिय कर्जा अनुपात केही बढेको छ । २०८० चैतमा बैंक तथा वित्तीय संस्थाहरुको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.९८ प्रतिशत पुगेको छ । यसैबीच, पछिल्लो समय केही ठूला बचत तथा ऋण सहकारी संस्थाहरु समस्याग्रस्त हुँदा औपचारिक वित्तीय मध्यस्थतामा पनि प्रभाव परिरहेको छ। तथापि, बैंकिङ्ग प्रणालीको खुद निष्क्रिय कर्जा न्यून रहेको, खुद तरल सम्पत्ति नियामकीय व्यवस्थाभन्दा उच्च रहेको, समग्रमा पुँजी पर्याप्तता कायम रहेको एवम् पछिल्लो समय लागू गरिएका सुधारका कार्यक्रमहरुको फलस्वरुप वित्तीय क्षेत्र स्थायित्व सवल नेपाल राष्ट्र बैंक रहेको छ। ब्याजदर घट्दै गएको र पर्यटक आगमन बढिरहेका अवस्थामा राजनैतिक स्थिरता सहित तीनै तहका सरकारको पुँजीगत खर्च बढेमा आर्थिक गतिविधिहरुमा सुधार भई कर्जा माग बढ्ने एवम् कर्जा असूलीमा समेत सुधार आउँदै जाने अपेक्षा रहेको छ।’
राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने बताएको छ। साथै मौद्रिक नीतिमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने उल्लेख गरेको छ।






About Us
प्रतिक्रिया