सागर बाबुको ‘जिन्दगीको रित’ नामक गीत–गजल सङ्ग्रह बजारमा

सागर बाबुको ‘जिन्दगीको रित’ नामक गीत–गजल सङ्ग्रह बजारमा


काठमाडौं– लेखक सागर बाबु (बुद्धि सागर लामिछाने) को ‘जिन्दगीको रित’ नामक गीत–गजल सङ्ग्रह बजारमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवसमेत रहेका उनले गीत–गजल सङ्ग्रह २०७९ मा प्रकाशन गर्दै बजारमा ल्याएका थिए ।

उक्त सङग्रहमा लेखक बाबुले राष्ट्र प्रेम, समाजिक सचेतना र प्रेमसँग सम्बन्धित गीत र गजल समेटेका छन् । साथै आफू प्रशासन जस्तो कठोर पदमा भइरहँदा पनि उनले सङ्ग्रहमा भावनात्मक कोमलतालाई सृजनात्मक रुपमा दर्साएका छन् ।

लामिछानेको पहिलो प्रकाशित कृतिको रूपमा रहेको यस सङ्ग्रहका केही राष्ट्रिय भावनाका गीतहरू नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित कलाकारहरूद्धारा स्वरबद्ध र स‌ङ्गीतबद्ध भएर श्रोताहरूका माझ पनि आइसकेका छन् । ‘जिन्दगीको रित’ नामक गीत र गजलसङ्ग्रहभित्र जम्मा ६० ओटा रचना सङ्कलित छन् । यीमध्ये ४३ ओटा गीत र १७ ओटा गजल छन् ।

४३ ओटा गीतमध्ये पनि प्रौढ गीत ३८ ओटा र बालगीत ५ ओटा छन् । प्रत्येक गीतमा विषयवस्तुअनुरूप शीर्षक दिइएका छन् । सङ्ग्रहमा भएका गीतहरू लोकलय, जसमा झ्याउरे र सवाई लय उनिएका छन् । यी गीत र गजल विषयवस्तुका दृष्टिले विविधतामय छन् ।

‘लठ्ठ परेँ’, ‘घर कहाँ हो नानी?’, ‘देशरक्षक’, ‘सबैलाई पिर्छ’, ‘समाज बने देश बन्छ’ र ‘हे युवा ! उठ न अब ता’ लगायतका गीतहरू र केही गजलहरू राष्ट्रिय भावना वा देशप्रेमको भावनाले ओतप्रोत छन् । यस्ता गीत र गजलहरूमा नेपालीहरूले आफ्नो राष्ट्रको स्वाभिमान र अक्षुण्णताका निम्ति पुस्तौंदेखि प्रदर्शन गर्दै आएको वीरता, देशभक्ति र उत्सर्गको गौरवपूर्ण इतिहास, नेपालको सुन्दर प्रकृति तथा नेपाली समाज र जातिका विविधतापूर्ण र इन्द्रेणीमय संस्कृतिको सजीव चित्र कलात्मक ढङ्गले उतारिएको छ ।