काठमाडौं– भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार सम्बन्धी तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना (साउन– फागुन) सम्म नेपालले १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबर वस्तु आयात गरेको छ।
गत आर्थिक वर्षको यसै अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड बराबरको वस्तु भएको थियो । यस आवको आठ महिनाको आयात गत आवको तुलनामा २.६६ प्रतिशतले कम हो ।
यसैगरि चालु आवको आठ महिनामा १ खर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत आव २०७९/८० को यसै महिनाको तुलनामा ३.९९ प्रतिशत कम हो।
आयात र निर्यात मात्रालाई तुलना गर्दा नेपाल व्यापार घाटाबाट माथि उठ्न सकेको छैन। चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना (फागुन) सम्म नेपालको कुल वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड देखिएको छ। आयातको तुलनामा निर्यात कम हुँदा सो व्यापार घाटा देखिएको हो । हाल देखिएको व्यापार घाटा गत वर्षको यही समयावधिको तुलनामा २.५२ प्रतिशतले कम हो।
यस्तो छ वैदेशिक व्यापारकाे स्थति
गत आवमा ९ खर्ब ५३ अर्ब रुपैयाँ व्यापार घाटा थियो । नेपालको कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा ८.९० प्रतिशत र आयातको हिस्सा ९१.१० प्रतिशत रहेको देखिन्छ। अघिल्लो वर्ष फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड बराबरको वस्तु आयात भएको तथ्याङ्कमा छ।
फागुनमा मात्र १ खर्ब ३३ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। विभागको तथ्याङ्क अनुसार फागुन मसान्तसम्म कुल वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब ८४ करोड देखिएको छ। यो अघिल्लो आवको तुलनामा २.७८ प्रतिशत कम हो । अघिल्लो आवमा ११ खर्ब ६३ अर्ब १८ करोड बराबरको कुल वैदेशिक व्यापार भएको थियो।
प्रतिक्रिया