चैतका लागि अधिकांश बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति?

चैतका लागि अधिकांश बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति?


काठमाडौं – चालु आर्थिक वर्षको अन्तिम महिना चैतलाई लक्षित गर्दै अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । यो सँगै २० वटै वाणिज्य बैंकले चैतका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

चैत १ गतेदेखि लागु हुने नयाँ ब्याजदरमा अधिकांशले एक प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् भने केही बैंकले भने स्थिर राखेका छन् । बैंकको तरलता व्यवस्थापन हुँदै गएपछि वाणिज्य बैंकहरूले चैतका लागि घटाएर नयाँ ब्याजदर तोकेका हुन् ।

चैतका लागि सबैभन्दा बढी ब्याजदर ताेक्नेमा एनआइसी एसिया बैंक रहेको छ । जसको ब्याजदर ८.५४८ प्रतिशत छ । अघिल्लो महिना यो बैंकको ब्याजदर ८ प्रतिशत थियो । यसैगरी चैतका लागि माछापुच्छ्रे, सिटिजन्स बैंकले ७.७५ प्रतिशत ब्याजदर तोकेका छन् । फागुनमा माछापुच्छ्रेको ८ प्रतिशत, सिटिजन बैंकको ८.२५ प्रतिशत ब्याजदर थियाे ।

कुमारी बैंकले चैत महिनाको लागि ७.५१ प्रतिशत ब्याजदर तोकेको छ । यो बैंकको अघिल्लो महिनाको ब्याजदर ७.०१ प्रतिशत रहेकोे थियो । यो सँगै नबिल, प्राइम कमर्सियल र सानीमा बैंकले चैतका लागि एउटै ब्याजदर तोकेका छन् । जुन ७.२५ प्रतिशत रहेको छ । यसमध्ये अघिल्लो महिना नबिल बैंकको ७.२५, प्राइम कमर्सियलको ७.४, सानीमाको ७.५१ प्रतिशत ब्याजदर रहेको थियो ।

ग्लोबल आइएमी बैंकको चैतका लागि ७.६ प्रतिशत ब्याजदर तोकिएको छ । अघिल्लो महिना पनि बैंकको सोही ब्याजदर कायम थियो । चैतका लागि एउटै ब्याजदर तोक्नेमा लक्ष्मी सनराइज, प्रभु, सिद्धार्थ र हिमालयन बैंक रहेका छन् । ती बैंकले ७.५ प्रतिशत ब्याजदर तोकेका हुन् । यसमध्ये अघिल्लो महिना लक्ष्मी सनराइजले ८ प्रतिशत, प्रभुले ७.५, सिद्धार्थले ८ र हिमालयनले ८.१५ ब्याजदर तोकेको थियो ।

नेपाल एसबिआई बैंकले भने चैतका लागि ७.०१ प्रतिशत ब्याजदर तोकेको छ । यो बैंकको अघिल्लो महिनाको ब्याजदर ८.०१ रहेको थियो । योसँगै नेपाल बैंक, स्टान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट र एनएमबी बैंकले चैतका लागि ७ प्रतिशत ब्याजदरलाई कायम राख्ने भएका छन् । अघिल्लो महिना यी बैंकले क्रमशः ७.२५, ७.३५, ७.३५, ८, ८.५ प्रतिशत ब्याजदर तोकेका थिए ।

एभरेष्ट बैंकले चैतका लागि ६.५ प्रतिशत ब्याजदर तोकेको छ । यसैगरी कृषि विकास बैंकले चैतका लागि सबैभन्दा कम ५.६६ प्रतिशत ब्याजदर तोकेको छ । अघिल्लो महिना यस बैंकको ब्याजदर ६.४४३ प्रतिशत रहेको थियो ।