चैतका लागि अधिकांश बैंकहरुले घटाए ब्याजदर

चैतका लागि अधिकांश बैंकहरुले घटाए ब्याजदर


काठमाडौं– अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।

बैंकहरूले व्यक्तिगत मुद्दतीमा जति ब्याजदर तोकेका छन्, संस्थाहरुलाई त्यसको १ प्रतिशत विन्दु कम हुन्छ । प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् ।

माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ ।

एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ। सो बैंककाे चैतदेखि लागू गर्ने गरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत छ।

एनआइसी एसिया बैंकले ब्याजदर बढाउँदा ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् ।