‘संघीय निजामति ऐन संसदमा प्रस्तुत गर्ने तयारीमा छौँ’


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामति ऐन संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले प्रत्येक मन्त्रालय संवद्ध राष्ट्रिय गौरवका आयोजनाहरु लगायत विकास निर्माण र सेवा प्रवाहका विषयहरुमा तत्काल सुधार गरी आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए ।

उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका संवद्ध सचिवहरुले सोको कार्यप्रगति अनुगमन गरी प्रतिवेदन बुझाउन निर्देशन दिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको अध्यक्षतामा रहेको आयोजना सहजीकरण समितिमार्फत राष्ट्रिय गौरव तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा देखिएको समस्या समाधान गर्न पनि पहल गर्न जरुरी रहेको उनले औल्याए ।

उनले भने, ‘ऐनका सन्दर्भमा हामी यो बैठकपछि नै संघीय निजामति ऐनलाई पनि अन्तिम रुप दिएर सदनमा लैजाने तयारीमा छौँ । सरकारले प्रत्येक मन्त्रालय संवद्ध राष्ट्रिय गौरवका आयोजनाहरु लगायत विकास निर्माण र सेवा प्रवाहका विषयहरुमा तत्काल सुधार गरी आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने सन्दर्भमा मैले दिएको निर्देशनको कार्यान्वयनमा तत्परता देखाउन पनि विशेष आग्रह गर्दछु ।’

प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरु रुपान्तरणकारी तथा प्राथमिकता प्राप्त आयोजनाहरुको प्रभावकारी रुपमा अनुगमन गरी आयोजनालाई समयमा नै सम्पन्न गर्ने व्यवस्था मिलाउन जरुरी रहेको बताए ।