काठमाडौं – राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रम नभएको टिप्पणी गरेका छन् ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै दाहालले सरकारको सिद्धान्त र प्राथमिकता गत वर्षको कपि पेस्ट जस्तो मात्रै लागेको बताए । सिद्धान्त र प्राथमिकतामा नयाँ भिजनका केही पनि कार्यक्रम नभएको भन्दै उनले देशको समृद्धि सम्बन्धित व्यवस्थित योजना नरहेको, अर्थतन्त्रका आजका समस्या र समग्र देशका समस्या समाधान गर्ने ल्याकत बोक्न नसकेको टिप्पणी गरे । आजका अर्थतन्त्रमा देखिएका चुनौतिको सामना गर्नसक्ने सिद्धान्त र प्राथमिकता नरहेको बताए ।
‘के सरकारले प्रश्तुत गरेका सिद्धान्त र प्राथमिकताको बारेमा सांसदहरुले सघन छलफल गर्न पाउलान् ? यो प्रश्न कायम नै छ । के सांसदहरुले राखेका विषयले स्थान पाउला रु के सिद्धान्त र प्राथमिकताको आधारमा नै बजेट बन्छ की बन्दैन ? यो परम्परागत भन्दा भिन्न छ होला ? गठबन्धनका मन्त्री, पहुँचवाला सांसद भन्दा माथि उठेर प्राथमिकता र सिद्धान्तअनुसार बजेट आउला ? यसको लागि के सरकारको नीति तथा कार्यक्रमले यि सबै विषयलाई समेट्न सक्ला ? दाहालले भने, के यसले आजका अर्थतन्त्रमा देखिएका चुनौतिको सामना गर्नसक्छ ? के यसले लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधान गर्नसक्छ ? आज उहाँहरु सडकमा हुनुहुन्छ । यो सिद्धान्त र प्राथिमिकता पेस गर्दैगर्दा भोलि आउने बजेटले यि सबै कुरालाई समेट्न सक्छ की सक्दैन । यि सबै प्रश्नहरु प्रश्नकै घेराभित्र छन् । सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको कपि पेस्ट जस्तो मात्र लाग्छ । नयाँ भिजनका साथ केही कार्यक्रम देखिँदैन । देशको समृद्धि सम्बन्धित व्यवस्थित योजना देखिँदैन, अर्थतन्त्रका आजका समस्या र समग्र देशका समस्या समाधान गर्ने ल्याकत यसले बोकेको देखिँदैन ।’
उनले सिद्धान्त र प्राथमिकतामा लघुवित्त र सहकारी पीडितहरुको समस्या तथा मिटरब्याजी पीडितका समस्याहरु समाधानका लागि कुनै पहल गर्न नभएको बताए । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया