६ बुँदे मागप्रति सरकार सकारात्मक देखिएन : मिटरव्याज पीडित

६ बुँदे मागप्रति सरकार सकारात्मक देखिएन : मिटरव्याज पीडित


काठमाडौं – मिटरव्याज पीडित वार्ता टोलीसँग सरकारले गरेको छलफल निष्कर्ष बिहीन भएको छ ।मिटरव्याजी पीडित संघर्ष समिति र सरकारबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्ता निष्कर्ष बिहीन भएको हो । मिटरव्याजी पीडित वार्ता टोलीमा संयोजक अवधेश कुशवाहाले सरकारसँगको वार्ता निष्कर्ष बिहीन भएको जानकारी दिए उनले सरकार मिटरव्याज पीडितको मागप्रति सकारात्मक नदेखिएको गुनासो गरे ।

संयाेजक कुशवाहाले मिटरव्याज पीडितहरुले राखेको ६ बुँदे मागप्रति सरकार सकारात्मक नभएको गुनासो गर्दै माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । उनले सरकारलाई आफूहरुले राखेका ६ बुँदे माग तत्काल कार्यान्वयन भए आन्दोलन फिर्ता गर्ने बताए पनि सरकार मागप्रति सकारात्म नभएको बताए ।

उनले भने,‘ मिटरब्याजी पीडितको ६ बुँदे मागप्रति सरकार सकारात्मक देखेनौं । ६ बुँदे माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलनमा रहन्छौं । ६ बुँदेमागमा मिटरब्याजीको फर्जि लिखत,तमशुक खारेज गर्नुपर्छ । क्षतिपूर्ति पीडितले पाउनुपर्छ । हस्तान्तरण भएको सम्पती फिर्ता हुनुपर्छ । मिटरब्याजीको लागि शक्तिशाली कानून निर्माण हुनुपर्छ । अधिकार सम्पन्न न्यायीक आयोग गठन हुनुपर्छ । अदालतमा मुद्दा चलिरहेका छन् । मुद्दा स्थगित गर्नुपर्छ । फैसला भएका मुद्दालाई आयोगमा ल्याएर पुनारावलोकन गर्नुपर्छ । मिटरब्याजीको सम्पती शुद्धिकरणमा छानविन हुनुपर्छ । राज्य सहुलियत पूर्ण ऋणको कार्यक्रम ल्याउनुपर्छ ।’

कुशवाहाले मिटरव्याज जाँचबुझ आयोग नभई पूर्ण अधिकारसहितको न्यायिक आयोग गठन गर्नुपर्ने आफूहरुको माग रहेको बताए। उनले आवश्यक दक्ष जनशक्ति, प्राविधिक क्षमता र मिटरब्याज जस्तो गम्भीर आर्थिक अपराधको विविध राजनीतिक, सामाजिक संरचनागत संलग्नताबारे ज्ञान भएको शक्तिशाली संयन्त्र बनाउन पनि माग गरिएको बताए। —(न्युज एजेन्सी नेपाल)