धरानमा विमानस्थल बनाउन सम्भव छैन : उड्डयन प्राधिकरण

धरानमा विमानस्थल बनाउन सम्भव छैन : उड्डयन प्राधिकरण


काठमाडौं– नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष निकालेको छ । बैंकिङ्ग समाचारसँग कुरा गर्दै प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरानमा विमानस्थल बनाउनु नीतिगत व्यवस्था विपरीत हुनुका साथै व्यावसायिक तथा आर्थिक रुपमा अहिले सम्भव नभएको जानकारी दिएका छन् ।

तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा नजिकका विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल अर्थात् ७० किलोमिटर भन्दा टाढाको दुरीमा हुनुपर्ने नीतिगत व्यवस्था रहेको भुलको भनाइ छ । त्यही व्यवस्थाअनुरुप नै विमानस्थल बनाउन नमिल्ने उनले जानकारी दिए ।

धरान बजारबाट विराटनगर विमानस्थल करिब २३ नटिकल माइलको दूरीमा रहेको छ । यसअघि धरान उपमहानगरका मेयर हर्क साम्पाङले विमानस्थल निर्माण गर्न पर्यटनमन्त्री सुदन किरातीलाई भेटेरै आग्रह समेत गरेका थिए । पर्यटनमन्त्री किरातीले पनि विमानस्थल बनाउन अध्ययन समिति गठन गरेका थिए ।

नागरिक उड्डयन प्राधिकरणले अध्ययन गर्दा भने दीर्घकालीनरुपमा विमानस्थल चल्न नसक्ने र बनाउन पनि अहिलेको अवस्थामा नसकिने निष्कर्ष निकालेको हो । यसकारण अहिले ५५ वटा मध्ये २२ वटा विमानस्थल हतारको निर्णयले बनेका कारण चल्न नसकिरहेको कुराबाट पाठ सिक्क आवश्यक रहेको तर्क भुलको छ ।