संघीय संसद सुन चोरहरुको बनेको छः पूर्वसभामुख ढुंगाना

संघीय संसद सुन चोरहरुको बनेको छः पूर्वसभामुख ढुंगाना


काठमाडाैं – पूर्व सभामुख दमननाथ ढुंगानाले संघीय संसद सुन चोरहरुको संसद बनेको बताएका छन् ।

मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले वर्तमान संघीय संसद सुन चोरहरुको बनेको बताएका हुन्। ढुंगानाले संसद ठेकेदार, फटाहा र स्पोन्सरहरुको बनिरहेको पनि आरोप लगाए ।

उनले सबै भ्रष्टाचारीहरुलाई सांसद बनाउन गइरहेका भन्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने पनि भनाइ राखे । सांसद ढुंगानाले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताए । । उनले पार्टीले जनसेवी र प्रसिद्ध नेतालाई चुनावको टिकट नदिई पैसामा बेच्ने गरेको आरोप लगाए ।

उनले भने – ‘यो निर्वाचन प्रणाली भ्रष्टाचारकै द्वार हो । यो पार्टी, उ पार्टीको कुरा होइन । एउटा मान्छे सबै जवानी खर्च गरेर एउटा क्षेत्र बनाउँछ भोलि म सांसद हुँला भनेर । पार्टीलाई पनि थाहा छ, यो पपुलर छ, जनसेवी छ । यसले जित्छ भनेको छ । खुत्रुक्क कुन नेताको खल्तीमा कुन पैसा पर्छ, करोडौँ पर्छ । त्यसले टिकट पाउँछ । दलमा भ्रष्टाचार टिकट बेच्नमा शुरु भइसकेको छ । यो रोक्न सक्छौँ हामी ? ०८४ को संसद कस्तो होला कल्पना गर्नुस् त ? खालि ठेकेदार, फटाहा र स्पोन्सरहरुको र अहिले सुन चोरीहरुको संसद बन्न गइरहेको छ । त्यतातिर ध्यान जानुपर्छ कि पर्दैन ? सरकार र प्रधानमन्त्रीको ? जम्मै भ्रष्टाचारीहरुको सांसद बनाउन गइरहेका छौँ । अब पनि निर्वाचन पद्धतीमा सुधार नगर्ने हो भने । त्यसकारण यो संविधान खतरामा परिराखेको छ । हामीले एकातिर डेलिभर गर्न सकेनौँ ।’