कञ्चनपुर– बेदकोट नगरपालिका–६ चुरे क्षेत्रमा रहेको सिद्ध सरोवर मनमोहक छ । सरोवरको किनारामा सिद्धनाथ बाबाको प्राचीन मन्दिर छ । भक्तजनले सिद्धनाथ बाबाको तपोभूमिका रुपमा यस क्षेत्रलाई चिन्ने गर्दछन् । मन्दिर र सरोवर पहाड र घनाजङ्गलका बीचमा अवस्थित छ ।
वन्यजन्तुको चहलपहलसँगै चराको चिरबिर आवाजले यस क्षेत्रमा पुग्ने आनन्दको अनुभूति गर्छन् । झन्डै तीन बिघा क्षेत्रफलमा सरोवर फैलिएको छ । ‘चारैतिर पहाड र वन क्षेत्रले घेरिएको हुनाले पहिला यस सरोवरलाई बन्दा तालको नामले चिनिन्थ्यो’, सिद्धनाथ मन्दिरमा बस्दै आएका भगत बालकृष्ण जैसी अधिकारीले भने, ‘अरू क्षेत्रमा पनि यस्तै नामको ताल रहेकाले नाम परिवर्तन गरी सिद्धसरोवर राखिएको हो ।’
सिद्धनाथको तपोभूमि भएकाले सिद्ध सरोवर नाम राखिएको उनको भनाइ थियोे । मन्दिर र ताल नजिकैको वनलाई सिद्ध सरोवर ब्रह्मकुञ्ज पर्यटकीय धार्मिक वन नामकरण गरिएको छ । वन क्षेत्रमा नीलगाई, चित्तल, बँदेल, मजुर, स्वर्गचरी, कोयललगायत पशुपन्छी यहाँ पाइन्छ । यो वन क्षेत्र विश्वकै दुर्लभ चरा राजधनेश र राज लाहाँचेको बासस्थान पनि हो । ठूला र वर्षौं पुराना रूखमा राजधनेश र राजहाँस चराले गुँड लगाउने गर्दछ । यस वन क्षेत्रलाई यी दुवै चराको संरक्षण क्षेत्रका रुपमा विकास गरिएको छ ।
सरोवर पुग्नुअगावै धार्मिक पर्यटकलाई लक्ष्य गरी धर्मशाला, यज्ञशाला, सिद्धनाथ बाबाको आकर्षक मूर्ति, खानेपानीको धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन् । प्राचीन गुफा र वनदेवीको स्थापना गरिएको यस क्षेत्रमा डडेल्धुराको पसेली समाजको प्राचीन सिद्धनाथ मन्दिर छ । यो नै यस क्षेत्रको पुरानो मन्दिर रहेको बूढापाकाहरु बताउँछन् ।
हिउँदका बेला पहाडका बासिन्दा चौपायासहित तराई झर्दा यस क्षेत्रमै गोठ बनाएर बस्ने गरेको आफूले सुनेको मन्दिरका पुजारी भगत अधिकारीले बताए । ‘सिद्धनाथको भूमि भएकाले हिउँदमा उनीहरुले चौपाया चराउने, पूजा गर्ने, शिवलिङ्गमा दूध चढाउने गर्दथे’, उनले भने, ‘हिउँद सकिएपछि गर्मी सुरु हुनुअगावै त्यसैगरी पूजा गरी पहाडतर्फ उनीहरू उक्लिने गर्दथे, यो सिलसिला वर्षौंदेखि चल्दैआएको थियो, तराईमा औलो उन्मूलन भएपछि पहाडबाट मौसमीरुपमा तराई झर्नेहरु वर्षभरि नै बस्ने थालेका हुन् ।’
वर्षको एक दिन सिद्धनाथ मन्दिरमा पूजाआजा गर्ने कार्यसँगै मेला लाग्ने गर्दछ । सिद्ध सरोवरबाट दुई किलोमिटर उत्तरतर्फ आकर्षक झर्ना रहेको छ । झर्ना र तालको मनोरम दृश्य नियाल्नका लागि नगरपालिका क्षेत्रका नजिकका बासिन्दा पुग्ने गरे पनि बाह्य क्षेत्रका थोरै व्यक्ति मात्रै यस क्षेत्रमा पुग्ने गरेको स्थानीय शेरसिंह कुवँरले बताए । ‘चराबारे सोधखोज गर्नेहरु कहिलेकाहीँ पुग्छन्’, उनले भने, ‘त्यसपछि डडेल्धुराको पर्शुराम जानेहरु यस क्षेत्रमा विश्राम गरेर जाने गर्दछन् ।’ आकर्षक र पर्यटकीय गन्तव्य रहे पनि प्रचारप्रसारको अभावले यो क्षेत्र ओझेलमा परेको उनको गुनासो थियो ।
धार्मिक र पर्यटकीय क्षेत्र भएर डडेल्धुराको पर्शुराम नगरपालिका जोड्ने सडकको ‘ट्र्याक’ खोलिएको छ । पूर्वपश्चिम राजमार्गको सुडादेखि मुसेपानी गाउँभन्दा उत्तरतर्फको केही सडक कालोपत्र गरिएको छ । बाँकी सडक भने कच्ची छ । त्रिशूली खोलामा पक्की पुल निर्माण लामो समयदेखि रोकिँदा बर्सादका बेला खोला तर्न सास्ती खेप्दै आउनु परेको छ ।
वडा नं ६ की वडाध्यक्ष तुलसी राना थारूले धार्मिक क्षेत्रको विकासका लागि हालसम्म गतिलो कुनै कार्य हुन नसकेको बताइन् । ‘वडाको थोरै बजेटले सिद्धसरोवर क्षेत्रको विकास गर्न कठिन छ’, उनले भनिन्, ‘नगरपालिकादेखि प्रदेश, सङ्घीय सरकारसम्म यस क्षेत्रको विकासका लागि बजेट माग गरे पनि प्राप्त हुन सकेको छैन ।’ सुदूरपश्चिम प्रदेश सरकाले पिकनिक स्पट निर्माणका लागि विनियोजन गरेको रु. १० लाख उपभोक्ता समिति गठनमा विवाद हुँदा कार्यान्वयनमा आउन नसकेको वडाध्यक्ष थारूको भनाइ थियो ।
एक पक्षले पिकनिक स्पट निर्माण गर्नुपर्छ र अर्को पक्षले धार्मिक क्षेत्रमा पिकनिक स्पट बनाउनु हुँदैन भनेर विरोध गरेकाले उपभोक्ता समिति गठन हुन नसकेको बताउँदै उनले गैरीखानदेखि नगरपालिका–६, ७ र १० सम्म जोड्न सङ्घीय सरकारबाट दुई करोडको लागतमा कालोपत्र सडक निर्माणको योजना भए पनि अहिलेसम्म कार्यान्वयन नसकेको गुनासो गरिन् ।
सिद्धसरोवर पुग्न पूर्वपश्चिम राजमार्गको सुडा हुँदै उत्तरतर्फ झन्डै आठ किलोमिटरको यात्रा तय गर्नुपर्छ । सुडाबाटै अटो, जिप, कार र मोटरसाइकल चढेर पनि सिद्धसरोवरसम्म पुग्न सकिन्छ । (रासस)



About Us
प्रतिक्रिया