काठमाडौं – नेपाल फुटबल संघ (एन्फा) ले २०८०/ ०८१ को बजेट तथा कार्यक्रमहरु अनुमोदन गरेको छ । सोमबार ललितपुरमा बसेको एन्फाको साधारण सभाले २०८०/०८१ को बजेट तथा कार्यक्रमहरु अनुमोदन गरेको हो । साधारण सभाबाट ०७९/ ०८० को बजेट अडिटलाई अनुमोदन गरेको पनि एन्फा प्रवक्ता सुरेश साहले बताए ।
उनले साधारण सभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय गरेको बताए । यसअघि नै एन्फाले दीपक खातीको संयोजकमा प्रविणकुमार झा र सुकबहादुर गुरुङको सदस्यतामा लेखा परीक्षण तथा अनुपालन समिति बनाएको थियो ।
उनले भने,‘आज हामीले नियमित साधारण सभा समापन सम्पन्न गरेका छौँ । ०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेका छौँ । २०८०/०८१ को बजेट तथा कार्यक्रमहरु अनुमोदन गरेका छौँ । लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय भएको छ । त्यसमा दीपक खाती संयोजक, प्रविणकुमार झा सदस्य र सुकबहादुर गुरुङ सदस्य हुनुहुन्छ । २०८०/०८१ को हाम्रो अनुमानित बजेट ६७ करोड, ६७ लाख ६६ हजार ०६० रहेको छ । खर्चको पनि ६७ करोड ६६ लाख रुपैयाँ पास गरिसकेका छौँ ।’
उनका अनुसार साधारण सभाले २०८०/ ०८१ को अनुमानित बजेट ६७ करोड, ६७ लाख ६६ हजार ०६० रहेको बताएको छ । त्यस्तै खर्चमा पनि ६७ करोड ६६ लाख रुपैयाँ पास गरिसकेको छ ।
प्रतिक्रिया