नेपाल टेलिकम ३ अर्ब बढी नाफामा


काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब बढीको नाफामा देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ४ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको नाफा ७.६० प्रतिशतले खुम्चिएको हो ।

दोस्रो त्रैमाससम्ममा कम्पनीको वित्तीय आम्दानी ३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। यस्तो आम्दानी अघिल्लो वर्षको यही अवधिसम्म ३ अर्ब ९५ करोड थियो। वित्तीय र सञ्चालन आम्दानी घट्दा कम्पनीको नाफा प्रभावित भएको छ । समिक्षा अवधिमा सञ्चालन आम्दानी घटेर १७ अर्ब २४ करोड रुपैयाँमा सिमित छ । गत वर्ष यस्तो आम्दानी १८ अर्ब ७ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ

हाल कम्पनीको चुक्तापुँजी १८ अर्ब रुपैयाँ छ । कम्पनीको रिजर्भमा भने ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ७५ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। नेपाल टेलिकमको वार्षिकीकृत प्रतिशेयर (ईपीएस) आम्दानी पनि घटेको छ । ईपीएस घटेर यो वषएको दोस्रो त्रैमाससम्म ४३.६८ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ४७.२८ रुपैयाँ थियो। पीई रेसियो २०.६२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ५०३.७६ रुपैयाँ रहेको छ।