मैले विगारेको हुँ लघुवित्त  (कविता लगुबित्तको)

मैले विगारेको हुँ लघुवित्त  (कविता लगुबित्तको)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
मलाई थाहा छ तपाई अवश्य पत्याउनु हुन्छ 
किनकी मैले विगारेको हुँ लघुवित्त 
मलाई थाहा छ मेरो यो भावना तपाई अवश्य पढ्नु हुन्छ 
किनकी मैले बनाएको हो भनेको भए तपाई नदेखे जस्तो गर्नुहुन्थ्यो 
मैले फेरी भनेको छु मैले विगारेको हुँ लघुवित्त 
विगार्ने, भत्काउने सबैलाई हेर्न सुन्न पढ्न मन लाग्छ नि हैन र ?

म त्यहि निकाय हुँ जस्ले बग्रेल्ति संस्थाहरु 
खोल भनेर आँखामा पट्टि बाँधेर अनुमति दिन्छ ु
यो समाजमा यसको प्रभाव कस्तो पर्ला 
अहँ मलाई मतलब छैन, मलाई चासो छैन
म सक्दिन यिनको रेखदेख गर्न, अनुगमन गर्न
मैले विर्सिसके जन्माएपछि राम्रो शिक्षा दिक्षा दिनुपर्छ
राम्रो लालन पालन गर्नुपर्छ
मैले जन्माएका सन्तानहरु ठुला भएका छन्
सुकिला मुकिला चिरि चट्ट परेका छन् 
मोटाएका छन् पँहेलपुर भएका छन्
के स्वस्थ भएरै मोटाएका हुन् त ?
भित्रै बाट संस्कार सिकेका छन् त ?
त्यति नै समझदार छन् त ?
ठुलो हुनु र असल बनेर ठुलो हुनुमा बहुत भिन्नता छ ।
म यो कुरा मज्जाले जान्दछु ।
मेरो हातमा कलम पनि छ लौरो पनि छ 
मेरो हातमा कैंचि पनि छ, हथौडा पनि छ
मलाई च्वाट्ट काट्न र ठ्याक्क ठोक्न आउँछ
यति भए पुग्दैन र 
म गर्वका साथ भन्छु मैले बनाएको हो लघुवित्त 
मैले जन्माएको हो लघुवित्त ।

म त्यहि समुह हुँ जसले यो क्षेत्रमा अकुत मुनाफा
देखेर पैसाको बाजि लगाउँछु 
मलाई लघुवित्तको “ल” भन्दा नाफाको “न” प्रिय लाग्छ 
मलाई गरिबिको “ग” भन्दा बोनसको “ब” प्रिय लाग्छ
गरिबि हटाउने, घटाउने जिम्मा मैले लिएको छैन
मुखले अलिअलि लिए पनि व्यवहारले अँह कत्ति लिएको छैन
त्यसैले त म भन्न सक्छु मैले बनाएको हुँ लघुवित्त

म त्यहि व्यक्ति हुँ जो निकाय र समुहको मुनि बसेको हुन्छु
म त्यहि व्यक्ति हुँ जो माथि बाट र तलबाट बिचै मा हुन्छु
मैले गरिवि हटाउने अशिक्षा घटाउने नारा घोक्नुपर्छ 
म भन्दा मुनिकालाई ठोक्नुपर्छ
म भन्दा माथिकालाई ढोग्नुपर्छ
मैले योजना गरेको नाफा मैले जसरी पनि दिएकै हुन्छु
त्यसैले त म भन्न सक्छु मैले बनाएको हुँ लघुवित्त 

म त्यहि कर्मचारी हुँ जो हर विहान
आँखा मिच्दै खुर्के भन्ज्याङको चौतारीमा पुगेर
एक विसो सुस्केरा हाल्दै थकान मार्छु
मलाई आफ्नो घरको चिन्ता कम पारी गाउँ 
पुतलि दिदिको चिन्ता बढि लागेको छ 
हिजै सुनेको , पुतलि दिदि त कालापहाड लागिन् रे
मलाई यो सुन्ने वित्तिक्कै ज्वारो आउला
आउला जस्तो हिजो बाटै भएको हो
मलाई राति निन्द्रै परेन
मलाई पिडा छ हजुर
अब पुतलि दिदिको ऋण कसरी उठाउने
मलाई थाहा छ अव हाकिमले ठटाउँछ
यता सदस्य कराएउँछ
हे भगवान 
पुतलि दिदिको पैसा जसरी पनि उठोस
पुतलि दिदि भगेको सबै कुरा झुठ होस
हुन त मलाई थाहा थियो 
पुतलि दिदि दशौं बैठकमा छिन्
दर्जनौ संस्थामा छिन्
थाहा भएर पनि अव के गर्नु 
एउटा बाख्रा किन्नको लागि लाखौं 
माग गराए
नाई भन्न सकिन
कुरा काट्न सकिन
घरमै पुगेर हेर्न सकिन
घरको अरु मान्छेलाई सोध्न सकिन

म त्यहि पुतलि दिदि हुँ 
सहि पढ्नु भयो 
म त्यहि पुतलि दिदि हुँ
मैले ठगे रे, 
मैले लुटे रे सबैले यस्तै भन्छन्
मैले लुटेको भए ठगेको भए
यो एकसरो लुगा लगाएर किन
यस्तो महामारीमा कालापहाड जान्थे
मलाई माया छैन र आफ्नो ईज्जतको
मेरो गाउँको मेरा आफन्तको
दुई छाक मिठो मसिनो खाएर गुजारा 
चलाएर बसेकि म पुतलि 
एक दिन – दिदि बाख्रा पाल्नुस ऋण लिनुस
सजिलो सस्तो भन्दै आउने तिमि नै हौ
मलाई अझै याद छ
दुई बिस हजार तिम्रै संस्थाबाट ऋण लिएर 
५ वटा बाख्रा किनेर हौंसिएको
 बाख्रा किनेको खुस ि२९ दिन मात्रै टिक्यो
३० औं दिनमा त किस्ता पो आउने रहेछ 
बेलुका हस्याङ फस्याङ गर्दै साहुबाट ऋण निकाले
बिहानै त्यहि बैठकमा किस्ता तिरे
समय वित्दै गयो साहुबाट ल्याउने बैठकमा बुझाउने
अर्को सर आए बैठक बसाए अव साहु चाहिएन
यताबाट निकाले उता तिरे उता निकाले यता तिरे
फेरी सर अर्को सर आए
हात जोडे
उहाँलाई पुतलि दिदि चाहिएको
मलाई पैसा चाहिएको
रक्सीको नसामा जस्तो 
कसरी हराउदै गएछु थाहै भएन
महिना भरि पैसा खोज्दै बैठक बस्दै गयो
बाख्रालाई न त घाँस न त पानी
अस्ति साँझनै हो औंला भाँच्दै गनेको
ऋण त १० औं लाख पुगेछ
संस्था दर्जन पुगेछन्
कहिले मिठो खाईन
कहिले राम्रो लाईन
कहाँ कसरी लाखौं गयो पत्तै भएन
गाउँ, समाज सबैले हेप्न थाले
सवैले भन्न थाले यसैले हो
बैठक विगारेको, लघुवित्त विगारेको
म कसरी अस्विकार गरुँ 
यत्रो लाखौ लिएर
समयमै तिर्न नसकेर जाँदैछु
तिर्न त म कान्लो बेचेर पनि तिर्छु
भाँडा माझेर पनि तिर्छु
गिट्टि कुटेर पनि तिर्छु
मलाई माफ गरिदिनुस
मलाई समय दिनुस
म स्वीकार गर्छु मैले विगारेको हुँ बैठक 
हो मैले विगारेको हुँ लघुवित्त ।

सुरेन्द्र भण्डारी 
लघुवित्त कर्मि