आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश संसदमा पेस


काठमाडौं – सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेस गरेको छ ।सोमबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त अध्यादेश पेस गरेका हुन् ।

अध्यादेश पेस गर्दै अर्थमन्त्री महतले नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेस गर्ने र सो प्रक्रियामा हुने छलफलको अवधि पर्याप्त गर्ने उद्देश्यले सो अध्यादेश प्रतिनिधि सभा बैठकमा पेस गर्नुपरेको स्पष्ट पारे ।

मन्त्री महतले भने, ‘आर्थिक विधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ मा रहेको त्यस्ता समायावधि संशोधन आवश्यक भएको र संघीय संसदको अधिवेशन नभएकाले नेपालको संविधानको धारा ११४ को संवैधानिक व्यवस्था बमोजिम यो अध्यादेश जारी गर्नु परेकाले प्रतिनिधि सभा नियमावली २०७९ को निमय ९४ बमोजिम प्रतिनिधिसभा समक्ष प्रश्तुत गर्दछु ।’

त्यसैगरी बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थप थर्ने आदेश पनि पेश गरे। प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बुधवार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।