सपोर्ट लघुवित्तको मुनाफा २४६.८२ प्रतिशत बढ्यो


काठमाडौं– सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलको मुनाफा बढेको छ । कम्पनीले शुक्रबार चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा २४६.८२ प्रतिशत बढेको जनाएको हो ।

विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म ८६ लाख ४२ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४६.८२ प्रतिशतले धेरै हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको मुनाफा २४ लाख ९१ हजार रुपैयाँ थियो ।

यस्तै कम्पनीको सञ्चालन मुनाफा पनि वृद्धि भएको छ । समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ७२ लाख ४ हजार रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिसम्म ३३ लाख ६९ हजार रुपैयाँमा सीमित थियो ।

वित्तीय संस्थाहरु खराब कर्जाको समस्याबाट ग्रसित भइरहदा सपोर्ट लघुवित्तको भने खराब कर्जा घटेका छ । यो अवधिसम्म कमपनीको खराब कर्जा १.५४ प्रतिशतमा सीमित छ । अघिल्लो आवमा भने यस्तो कर्जा ३.५३ प्रतिशत थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । खुद ब्याज आम्दानीमार्फत कम्पनीले ११ करोड ४१ लाख बढी आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीको ९ करोड ९६ लाख खुद ब्याज आम्दानी थियो ।