बैकिङ्ग कसूरमा एक करोड ८५ लाख जरिवाना भएका फरार प्रतिवादी पक्राउ

बैकिङ्ग कसूरमा एक करोड ८५ लाख जरिवाना भएका फरार प्रतिवादी पक्राउ


बैकिङ्ग समाचार । 
बैकिङ्ग कसूर मुद्दामा एक करोड ८५ लाख जरिवाना भएका फरार प्रतिवादी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले झापा घर भई काठमाडौं महानगरपालिका-४ का ५१ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई पक्राउ गरेको हो।

उनलाई सिआइबीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

उपेन्द्रप्रसाद ढुंगानाले २०७५ असार २ गते पैसा नभएको खाताबाट चेक काटेर उर्मिलालाई दिएका थिए। त्यसपछि उर्मिला कँडेलले ढुंगानाविरूद्ध प्रहरीमा बैकिङ्ग कसूरको मुद्दामा जाहेरी दिएकी हुन्।

सो मुद्दामा उच्च अदालत पाटनले २०७७ माघ ५ गते ढुंगानालाई एक महिना कैद र एक करोड ८५ लाख जरिवाना हुने ठहर भएको थियो।

सो सजाय बेरुजु भई फरार रहेका ढुंगानालाई पक्राउ गरी बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।