३० मिलियन डलरको बोन्ड जारी गर्दै निफ्रा, लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने

३० मिलियन डलरको बोन्ड जारी गर्दै निफ्रा, लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने


बैकिङ्ग समाचार । 
नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) ले ३० मिलियन डलर बराबरको बण्ड जारी गर्ने भएको छ ।

कम्पनीले उक्त रकम बराबरको बोन्ड जारी गरी लन्डन स्टक एक्सचेन्जमा सूचीकृत गर्ने निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले जानकारी दिए । उनले चालू आर्थिक वर्षभित्रै बोन्ड जारी गरी सूचीकृत गरिसक्ने पनि बताए । 

आइतवार नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले ३० मिलियन डलरको बोन्ड गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको समेत जानकारी गराए । 

उक्त बोन्डका लगानीकर्ताले ८ दशमलव ५ प्रतिशत प्रतिफल सुनिश्चित गराउने प्रमुख कार्यकारी अधिकृत खतिवडाको भनाइ छ । लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरि बोन्ड जारी हुने पनि उनको भनाइ छ । पाँच वर्षे अवधिको उक्त बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए ।

सर्वसाधारणमा भर्खरै आईपीओ जारी गरी नेपालको धितोपत्र बजारमा सूचीकृत भइसकेको उक्त कम्पनीले रणनीतिक साझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको उनको भनाइ छ ।

ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनले स्पष्ट पारे । “यो दीर्घकालिन प्रकृतिका पुर्वाधारमा लगानी गर्ने बैंक हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं,”  खतिवडाले भने ।

उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर उक्त लाभांश बाँडफाँटका लागि यसै वर्ष हुने वा आगामी केहि वर्ष जगेडा कोषमा राखेर बाँडफाँट गर्ने त्यो आगामी दिनमा निर्णय हुने बताए ।

उक्त कम्पनीले नेपालकै बैंक तथा वित्तीय संस्थाका लागि पनि बोन्ड जारी गर्ने तयारी गरिरहेको छ । वाणिज्य बैंकहरुले त्यस्तो बोन्ड खरीद गर्दा पुर्वाधारमा लगानी गरेको गणना हुने गरि बोन्ड तयार गरिएको छ । 

त्यस्तै, इन्स्योरेन्स बोन्डका बारेमा पनि छलफल अघि बढाएको छ । इन्स्योरेन्स कम्पनीहरुले त्यस्तो बोन्ड खरिद गर्दा पुर्वाधारमा लगानी गरे बराबर मान्यता दिइनेछ । विशेष गरि जीवन बीमा कम्पनीका लागि इन्स्योरेन्स बोन्ड केन्द्रित हुनेछ ।