गरिमा बिकास बैंकको खुद नाफा ५१ करोड २५ लाख


काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे देखिन्छ ।

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा २.०८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यही अवधिसम्ममा बैंकले ५० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढी इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा थोरै मात्र बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.४० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २२.३२ प्रतिशत बढेको छ।

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५ प्रतिशत र सञ्चालन मुनाफा २.१० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा १.८९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको देखिन्छ।