प्रभु बैंकको नाफा ३९ प्रतिशतले घट्यो


काठमाडौं – प्रभु बैंक लिमिटेडको नाफा ३९.९७ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैंकले ६ महिनामा ७२ करोड ३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी भने ३०.५८ प्रतिशत बढेर ४ अर्ब ७६ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो । हाल बैंकको खराब कर्जा पनि बढेर ४.९० प्रतिशत पुगेको छ ।

यस्तै, बैंकको सञ्चालन नाफा ५.७७ प्रतिशत बढेको छ । बैंकको यस्तो नाफा १ अर्ब ७२ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । बैंकले १ खर्ब ८१ करोड ३० लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ३१ करोड ३५ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषको आकार पनि ५।१२ प्रतिशत बढाएर १० अर्ब ११ करोड १५ लाख रुपैयाँ पुर्याएको छ ।