त्रिभुवन विमानस्थलद्वारा रात्रि बिसान नगर्न दिइएको निर्देशनमा कडाइ


काठमाडौं– त्रिभुवन विमानस्थलले रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशनमा कडाइ गर्ने भएको छ। विनमास्थलमा रात्रि बिसान नगर्न दिएको नियमलाई कडाइ गर्न सम्बन्धित वायुसेवा कम्पनीलाई त्रिभुवन विमानस्थलद्वारा शुक्रबार पत्र पठाइएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै वायुसेवा कम्पनीलाई काठमाडौंमा रात्रि बिसान नगरी मोफसलमा लैजान आग्रह गरेको थियो । तर, कार्यान्वयन फितलो भएकाले वायुसेवा कम्पनीहरुलाई कडाइका साथ नियमको पालना गर्न सचेत गराइएको विमानस्थलका प्रवक्ता सुभाष झाले जानकारी दिए । बैंकिङ्ग समाचरसँग कुरा गर्दै उनले भने, ‘यसअगाडि पनि हामीले पत्राचार गर्दै आएको थियौँ । तर रात्री मौसम बिग्रिएको, पेसेन्जर नभएको र बेलाबखत जहाज पनि बिग्रिएको समस्या देखाउँदै कार्यान्वयन फितलो हुने गरेको थियो ।’

उनले यस प्रकारका समस्या समाधानका लागि पूर्वतयारी अवस्थामा रहन कम्पनीहरुलाई आग्रह गरेको पनि जानकारी दिए । योसँगै काठमाडौंमा जहाज पार्किङमा चाप हुँदा निम्तिन सक्ने जोखिम कम हुने उनको भनाइ छ । ‘यसअघि पनि हामीले हप्ता प्रन्ध दिनमा सचेत गराउँदै आएका थियौं । अब भने कार्यान्वयनमा आनाकानी भए, थप प्रक्रिया चाल्नेछौँ’, उनले भने

आगामी दिनमा जहाजमा टेक्निकल समस्या भएको भन्ने कम्पनीले ‘टेक्निकल लगबुक’ देखाउनुपर्ने उनले जानकारी दिए । यसले जहाज साँच्चिकै प्राविधिक कारणले बिग्रिएको हो वा बहाना बनाइएको हो भन्ने कुरा प्रष्ट हुने उनको भनाइ छ ।

प्राधिकरणले यो नियम कडाइ गरेसँगै बुद्ध एयरका नौ, श्री एयरलाइन्सका तीनसँगै यती एयरलाइन्स, सीता एयर, नेपाल वायुसेवा निगम र तारा एयरका एक/एक जहाज रात्रि बिसानका लागि काठमाडौं बाहिरका विमानस्थल लैजानुपर्ने भएको छ । त्रिभुवन विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रिय र १७ वटा डोमेष्टिक पार्किङ रहेका छन् ।