काठमाडौं । नेपालका ७७ वटा जिल्लामा सञ्जाल विस्तार गरि ग्रामीण अर्थतन्त्रको सुधारमा कार्य गरिरहेको साना किसान विकास लुघुवित्त वित्तीय संस्था लि. ले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको २२ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेम बहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित भएसँगै १५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
लघुवित्तले आर्थिक वर्ष २०७९÷०८० सम्मको मुनाफाबाट चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २०४ को १४ दशमलव २५ प्रतिशतले हुने ४७ करोड ४७ लाख ५५ हजार ५९४ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश २ करोड ४९ लाख ८७ हजार १३६ गरी जम्मा चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम ४९ करोड ९७ लाख ४२ हजार ७३० वितरणका लागि प्रस्ताव पारित गरिएको छ ।
बोनस शेयर पारित भएसंगै लघुवित्तको कुल चुक्ता शेयर रकम ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार ७९८ पुगेको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभिएर मिति २०८० असार २४ गतेबाट कारोवार सञ्चालन भएपश्चात यस वित्तीय संस्थाको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २ सय ४ रुपैयाँ पुगेको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खेम बहादुर पाठकले साना किसान लुघवित्त मार्फत सञ्चालन भएका कार्यक्रम मार्फत ग्रामीण अर्थतन्त्रको सुधारमा ठूलो सहयोग पुगेको बताए । उनले आर्थिक सामाजिक र सचेतनाको रुपान्तरणमा साना किसान सदैव अग्र भागमा रहेर काम गरिरहेको भन्दै सरकार र सरोकारवाला निकायहरुसंगको सहकार्यलाई अझै बढाउँदै आर्थिक समृद्धिको बाटोमा आगडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष पाठकले संस्था मार्फत प्रवाह हुने सेवालाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै जाने बताए । यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले अर्थतन्त्र सुधारका लागि साना किसानहरुको ठूलो योगदान रहने बताए ।
उनले आयत कम गर्न साना किसानहरुलाई उद्यमसंग जोड्नुपर्ने तर्क गरे । प्रविधिको प्रयोग मार्फत साना किसानहरुको आय आर्जन बढाउँदै युवाहरुलाई कृषि तथा पशुपालनमा आकर्षण गर्न सके मात्र देशको अर्थतन्त्र सुधार हुने उनको धारणा थियो । आर्थिक उपार्जन मात्र नभएर सचेतनाको विकासमा पनि साना किसानहरुको योगदान स्मरणीय रहेको भन्दै उहाँले आगमी दिनमा किसानहरुको हितका लागि संस्थाले विभिन्न सहुलियतपूर्ण प्याकेजका कार्यक्रमहरु सञ्चालन गर्ने विश्वास समेत दिलाए ।
कार्यक्रममा देशभरबाट करिव ५ सय भन्दा बढि साना किसान, शेयर सदस्य तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया