बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर निष्काशनको मिति संशोधन भएको छ । जस अनुसार इन्स्योरेन्सको साधारण शेयर निष्काशन फागुन २१ गते शुक्रबारदेखि हुने भएको हो । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यस अघि फागुन २३ गते आइतबारदेखि निष्काशन हुन लागेको इन्स्योरेन्सको साधारण शेयर २ दिन अगाडि सारेर शुक्रबारदेखि निष्काशन हुन लागेको हो ।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को अनलाइन सफ्ट्वेयर मेरो शेयरबाट दोस्रो बजारको शेयर कारोबारको राफसाफ समेत गर्नु पर्ने अवस्थामा साधारण शेयरका आवेदकको धेरै चाप आउँदा समस्या पर्न सक्ने भन्दै शेयर निष्काशनमो मिति परिमार्जन गरिएको हो ।
ज्योति लाइफले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशनमा ल्याउन लागेको हो ।
निष्काशनमा आउने कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको शेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।
सामूहिक लगानी कोषका इकाइ र कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ । यस आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र सिडिएससीको मेरोशेयरको वेवसाइट तथा मोबाइल एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
उक्त आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँडपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।



About Us
प्रतिक्रिया