साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व

साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व


काठमाडौं- साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को नयाँ सञ्चालकमा ६ जना निर्वाचित भएका हुन् । भक्तपुरको बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।

नयाँ सञ्चालकहरुमा खेम बहादुर पाठक, डा. बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भिम प्रसाद पन्त संस्थाको नयाँ सञ्चालक समितिमा निर्वाचित भएका हुन् । नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको रहने छ ।

ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरु र समान प्रकृतिका संस्थाहरु मार्फत थोक कर्जा प्रदायक संस्थाका रुपमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था गत असार २४ गते मर्ज भएका थिए ।

७७ जिल्लामा सेवा पुगेको यस वित्तीय संस्थाको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २ सय ४ रुपैयाँ पुगेको छ । ५ सय ४६ वटा स्थानीय तहमा सञ्जाल विस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्था मार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा यस वित्तीय संस्थाको सेवा पुगेको छ । दलित ११%, जनजाती ३९% र अन्यको ५०% रहेकोमा महिला सहभागिता ७९ प्रतिशत छ ।