निफ्राको सेयर मूल्य १० प्रतिशतले घट्यो, बेच्ने कि राख्ने ?

निफ्राको सेयर मूल्य १० प्रतिशतले घट्यो, बेच्ने कि राख्ने ?


बैकिङ्ग समाचार । 
हिजोसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मूल्य मंगलबार १० प्रतिशतले घटेको छ। सो दरमा मूल्य घटे पनि आज भने किन्ने कोही छैनन्। कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य हिजोको तुलनामा १० प्रतिशतले बढेको थियो।

सुरुआतमा मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगे पनि ठूला लगानीकर्ताले बेच्न थालेपछि अन्ततः मूल्य ह्वात्तै घटेको हो। १० प्रतिशत मूल्य घटेपछि मूल्य अहिले ५९४ रुपैयाँमा फर्किएको छ। सो मूल्यमा करिब ३ लाख कित्ता बेच्नका लागि तयार रहँदा किन्ने कोही छैनन्। बेच्नेतिर संख्या बढ्दै गइरहेको छ। 

यसको आइपिओ भरेका सबै, १४ लाख ७५ हजारले सेयर पाएका थिए। यति धेरै संख्याले आइपिओ पाएको यो नै पहिलो हो, जसले गर्दा सेयर बजारमा यो कम्पनी निकै चर्चामा रह्याे।  बाँडफाँट गर्दा धेरैले ५० र ६० कित्ता सेयर पाए। त्यस्तै बजारमा सबभन्दा धेरै कित्ता सेयर सूचीकृत भएको कम्पनी पनि निफ्रा नै हो। यसको २० करोड कित्ता सेयर सूचीकृत छ। 

कारोबार सुरू भएको दिनदेखि नै कम्पनीको मूल्य दैनिक दस प्रतिशतका दरले बढेको थियो। कम्पनीको वित्तीय स्थिति मजबुत छैन भने बिजनेस बढाउन सबभन्दा ठूलो चुनौती छ।  कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्छ। उसले संकलन गरेको निक्षेपमा दिने ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर नै आम्दानीको मुख्य स्राेत हो।