बुक बिल्डिङ पद्धतीको सुरुवात गर्दै बोर्डबाट बाहिरिए हमाल

बुक बिल्डिङ पद्धतीको सुरुवात गर्दै बोर्डबाट बाहिरिए हमाल


काठमाडौं-नेपाल धितोपत्र बोर्ड अध्यक्षको आधा कार्यकाल जिम्मेवारी सम्हालिरहेका रमेशकुमार हमाल पुस २० (शुक्रबार) देखि बिदा हुँदै छन्। २१ महिने कार्यकालमा पुँजी बजारमा करिब दुई दर्जन काम गरेर हमाल बोर्डबाट बिदा भएका हुन्।

हमाल बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको बाँकी कार्यकाल अर्थात् २१ महिनाका लागि अध्यक्षमा नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ पुसमा ढुंगानालाई ४ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो। तर, सर्वोत्तम सिमेन्ट लिमिटेड सेयर कारोबार प्रकरणमा मुछिएपछि सरकारले ढुंगानालाई २०७८ असोज १९ मा पदमुक्त गरेपछि बाँकी कार्यकालको जिम्मेवारी २०७८ पुस १८ मा हमाललाई दिइएको थियो।

उनले आफ्नो कार्यकालमा नेपालको पुँजी बजारको इतिहासमै पहिलो पटक बुक बिल्डिङबाट सेयर जारी गर्ने, समयमै वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई लष्ट नै सार्वजनिक गर्दै कारवाही, सि–आस्वा शुल्क घटाउने, ब्रोकर लाइसेन्स, रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन प्राथमिक सेयर निष्कासन (आइपिओ) मा वैदेशिक रोजगारीमा गएका नेपालीलाई कोटा, साना तथा मझौला लगानीकर्ताका लागि ‘एसएमइ प्ल्याट फर्म’ नयाँ स्टक एक्सचेञ्ज ल्याउने बाटो खुलाउने जस्ता महत्वपूर्ण काम गरेका छन ।

हमालको कार्यकाल समाप्तिसँगै अध्यक्ष पद रिक्त भएपछि अर्थ मन्त्रालयले ३ जनाको नाम सिफारिस मन्त्रिपरिषद्मा पठाउनुपर्छ। सोही ३ जनाबाट उपयुक्त १ जनालाई ४ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गरिनेछ। सम्भवत आगामी मन्त्रीपरिषद्को बैठकले कामु अध्यक्षको जिम्मेवारी तोक्ने सम्भावना रहेको नेपाल धितोपत्र बोर्डका एक कार्यकारी निर्देशकले बताए ।