भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा, राष्ट्रपति र प्रधानमन्त्रीलाई आजै भेट्ने

यस्तो छ समय तालिका


काठमाडौं–भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्। भारतीय वायुसेनाको विशेष विमान आइएफसी-३१ बाट बिहान साढे ९ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्। मन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन्।

काठमाडौंस्थित भारतीय दूतावासले दिएको जानकारी अनुसार जयशंकर आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुग्नेछन् ।

त्यसपछि उनले प्रधानमन्त्री प्रचण्डसँग मध्याह्न १२ बजे बालुवाटारस्थित निवासमा भेट्ने कार्यक्रम तय भएको छ । दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने विदेशमन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको समय निर्धारण गरिएको छ ।

बेलुका परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् । शुक्रबार बिहान ८ बजे उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाने छन् । सोही दिन १२ बजेपछि उनी नयाँदिल्ली फर्किनेछन् ।

भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरु छन् ।