सबै सहकारी खराब छैनन् : उपसभामुख राना


काठमाडौं – प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै सहकारी संस्था खराब नरहेको बताएकी छन् ।

तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पछिल्लो समय केही सहकारी सङ्घ संस्थाका विकृति विसङ्गति समाचार माध्यममा आइरहे पनि सबै सहकारी खराब नरहेको बताइन् ।

कालिमाटी तरकारी बजारका व्यवसायीले सञ्चालन गरेको तरकारी फलफूल साकोसबारे आफू राम्रो जानकार रहेको भन्दै उपसभामुख रानाले उक्त सहकारी सुशासनमा सञ्चालन भइरहेको आफूले पाएको बताइन् । तरकारी बजारका व्यवसायीसँग कोभिड–१९ का बेला दुई वर्षसम्म सहकार्य गर्ने अवसर पाएको स्मरण गर्दै सहकारीले पनि आफ्ना सेयर सदस्यलाई धेरै किसिमका सेवा दिएको आफूले पाएको चर्चा उनले गरिन् ।

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले तरकारी फलफूल साकोस सुशासनमा चलेको आफूले पाएको बताए । सहकारीका सूचकाङ्कहरुको अध्ययन गर्दा यसले आफ्ना सेयर सदस्यलाई केन्द्रमा राखेर धेरै सिर्जनशील काम गरेको, शेयर सदस्यको आर्थिक विकासमा टेवा र्पुयाएको आफूले पाएको उनको भनाइ छ ।

सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेले तरकारी फलफूल साकोसको आर्थिक विवरण हेर्दा सुशासनमा सञ्चालन भइरहेको आफूले पाएको बताए । सञ्चालक समितिका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उक्त सहकारी संस्था स्थापनामा उल्लेख्य भूमिका निर्वाह गरेका सहकारी विभागका पूर्वरजिस्ट्रार केशवबहादुर थापा र वरिष्ठ बजारविज्ञ उद्धव ढुङ्गानालाई सम्मान गरिएको थियो ।

सहकारी संस्थाका शेयर सदस्यका छोराछोरीमध्येबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको थियो । नियमित बचतकर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारी सम्मानसमेत प्रदान गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले जानकारी दिए । –रासस