गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट


बैंकिङ्ग समाचार, काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दायर भएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

आज जोशी ल एण्ड एसोसिएट्सका अधिवक्ता दिपकराज जोशी , ठकुाराठी एशोसिएट्सका अधिवक्ता प्रतापसिंह ठकुराठी , विप्स ल एसोसिएट्स प्रा।लि का संचालक अधिवक्ता दामोदर तिम्सिना र चुडामणी भण्डारीले संयुक्त रुपमा रिट दायर गरेका हुन् ।

उनीहरुले गभर्नरको योग्यता माथि प्रश्न उठाउदै रिट दायर गरेका हुन् । राष्ट्र बैंकको गभर्नर बन्न स्नातकोत्तर गरेको हुनु पर्ने व्यवस्था छ । तर गभर्नरले सीए गरेको र सीएको उपाधिले हालसम्म पनि स्नातकोत्तर सरह मान्यता नपाएकोले गभर्नरको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ । उनको योग्यता नपुगेकोले अधिकारीलाई गभर्नर नियुक्त गर्ने मिति २०७६।१२।२४ को निर्णय बदर गर्न रिटमा माग गरिएको छ ।

गभर्नर अधिकारी विरुद्धको रिटमा सर्वोच्च अदालतले बिहीबार रिट दर्ता गर्दै शुक्रबारका लागि पेशी तोकेको छ । गर्भनर पदमा अयोग्य व्यक्ति नियुक्त भई आफुअनुकुलका कार्यहरु गरिरेको र रिटको विषयलाई समेत ध्यानमा राखी यसको गम्भिर्यतालाइ समेत हेरी सुनुवाईको लागि अग्राधिकार समेत दिलाई पाउन रिटमा माग गरिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय , अर्थ मन्त्रालय , राष्ट्र बैँक , नेपाल राष्ट्र बैँक संचालक समिति र गभर्नर महाप्रसाद अधिकारीलाई विपक्षी बनाईएको छ ।