डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छः अर्थमन्त्री डा. महत



बैंकिङ्ग समाचार, काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको बताएका छन् । सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘डिजिटल प्लेटफर्मले बिजनेशलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ । जो उत्पादनमा लागेका छन्, उनीहरुले डिजिटल प्लेटफर्ममार्फत् बजारमा सजिलै पहुँच पुर्याउन सक्छन् । न्यून खर्चमा आम्दानी बढाउन सक्नेछन् ।’

मन्त्री डा. महतले भने, ‘५० प्रतिशतभन्दा थोरै हामीले कर लगाउने व्यवस्था गरेका छौं । जसको व्यवसायले फड्को मार्दैछ र नेपाल बाहिर पनि सुरुवात गर्न चाहन्छ, उनीहरुका लागि पनि आफूले कमाएको आम्दानीको केही हिस्सा बाहिर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।’

राज्यले दिएको यो सुविधाले आईटी बिजनेश बढाउन मद्दत पुग्ने मन्त्री डा. महतले बताए । मन्त्री महतका अनुसार यसले बिजनेश सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ ।

उनले भने, ‘आईटी सेक्टरमा निर्यात बढिरहेको छ, आउँदा दिनमा अझ बढ्छ । यसको संस्थागत विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ । युवा विदेश पलयानलाई रोक्न पनि आईटीलाई प्रवद्र्धन गर्न जरुरी छ । युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म छ ।’