काठमाडाैंमा डलर साटिदिन्छु भनी लुटपाट गर्ने गिराेह सक्रिय, ८ जना पक्राउ


काठमाडौं- काठमाडौं उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो ।

उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाइ पैसा लुटपाट गर्ने गरेको पाइएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । ढुङ्गेलका अनुसार यसरी डलर साट्ने नाममा लुटपाटका घटना भएको प्रहरीमा जानकारी आएपछि केही दिनअघिदेखि टोली परिचालन गरिएको पनि उनले बताए ।

यस्ता गिरोह सक्रिय रहेको छ भन्ने जानकारी आएकाले प्रहरी परिसर र काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मङ्गलबारसम्म आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङका ३४ वर्षीय खड्कबहादुर तामाङ, मोरङका ३६ वर्षीय अशोक लिम्बू, सिन्धुपाल्चोकका रामबहादुर,चन्द्रबहादुर तामाङ, रेलबहादुर तामाङ, देवराज तामाङ र मञ्जु भन्ने कृष्णकुमारी तामाङ, भक्तपुरको दुवाकोट र बस्ने वर्ष ३६ का सुब्बा तामाङ, काठमाडौंको तारकेश्वर बस्ने वर्ष ४५ का चन्द्रबहादुर तामाङ रहेका छन्।

उनीहरूको साथबाट ५० को १६ थान सक्कली अमेरिकन डलर, दुईवटा राहदानी, तिलहरी र एउटा स्कुटर बरामद गरी थप अनुसन्धान थालिएको छ । उनीहरूमार्फत यसरी लुटपाटमा संलग्न अन्य व्यक्तिको खोजी पनि जारी रहेको प्रहरीले जनाएको छ ।