नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन


काठमाडाैं- नबिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री (डिबेन्चर) बन्द गरेको छ।

बैंकले २९ मंसिरदेखि ३ पुससम्म प्रतिकित्ता एक हजार रुपैयाँका दरले तीन अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेकाे थियाे। यस अवधिमा मागभन्दा बढी आवेदन परेको जानकारी बैंकले दिएकाे छ। पहिलो पटक दिएको समयमै सबै डिबेन्चर बिक्री भएकाे बैंककाे भनाइ छ।

बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुला गरेकाे थियाे।

सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्ता मध्य पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६०,००० कित्ता सामुहिक कोषका लागि समेत समावेश गरिएको छ । सर्वसाधारणले न्युनतम २५ कित्ता देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ ।