दिगो र गुणस्तरीय बीमा व्यवसाय गर्न कम्पनीलाई प्राधिकरणकाे निर्देशन


काठमाडाैं- नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । बीमा प्राधिकरणद्वारा साेमबार २ विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरूसँगकाे अन्तरक्रिया कार्यक्रममा उनले बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न निर्देशन दिए ।

अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ताहरूले बैङ्क र बीमाबीचको फरक नागरिकलाई बुझाउनुपर्छ, कागजको पूर्णता, ग्राहकको पहिचान र बीमितको स्रोत सुनिश्चितता भएपछि मात्र बीमा गर्नुपर्छ ।’

सम्पत्ति शुद्धीकरण गर्ने गरी बीमा गरेको पाइएमा कारवाही गरिने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमकहरूले संस्थागत सामाजिक उत्तरदायित्व र कर्मचारीहरूको तालिमका लागि रकम छुट्याउनुपर्छ, कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्छ, बीमकका कर्मचारीहरूले पनि बजारको अध्ययन अनुसन्धान गरेर नयाँ नयाँ बीमालेख ल्याउन माग गर्नुपर्छ ।’

अध्यक्ष सिलवालले बीमकका संचालक समिति र व्यवस्थापनबाट कर्मचारीहरूको हितविपरित कार्य भएमा त्यसका बारेमा गोप्यरूपमा जानकारी दिन सुझाव दिए ।

यस्तै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रति नागरिकको विश्वास बढ्ने गरी स्वच्छ रूपमा बीमा व्यवसाय गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए।

कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले बीमकका प्रदेश तथा शाखा कार्यालयलाई सुविधा सम्पन्न बनाउन, अधिकार प्रत्योजन गर्न, जोखिमाङ्कन, दावी व्यवस्थापन र बजारीकरण सम्बन्धी तालिम दिन, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गको पाठ्यक्रममा बीमा विषय समावेश गराउनका लागि पहल गर्न, संचालक र व्यवस्थापकको मात्र नभई कर्मचारीहरूको समेत वृत्ति विकासको व्यवस्था गर्न आग्रह गरेका थिए ।