६० प्रतिशतले बढ्याे घरजग्गा कारोबार


काठमाडाैं- २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गाको कित्ताकाट रोकियो। नियमावलीले जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न वर्गमा विभाजन गरेकाे थियाे। उक्त नियमावलीसँगै लामाे समय घरजग्गा काराेबार ठप्पजस्तै भयाे।

उक्त नियमावली लागू भएपछि अर्थतन्त्रमा नकारात्मक असर परेकाे भन्दै सरकारले गत वैशाखमा निर्णय सच्चायाे। वैशाख ५ गतेकाे मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली संशोधन गरेर देशभर कित्ताकाट खोल्ने निर्णय गर्याे। त्यससँगै घरजग्गा काराेबारले केही गति लिए पनि काराेबारमा त्यति ठूलाे वृद्धि हुन सकेकाे थिएन।

यद्यपि, चालू आर्थिक वर्ष २०८०/८१ को पाँचौ महिना मंसिरमा आर्थिक वर्षकै सबैभन्दा बढी घरजग्गा काराेबार भएकाे छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिरमा ४१ हजार ८५१ वटा घरजग्गा कारोबार भएको छ, जुन कात्तिक महिनाकाे तुलनामा ६० प्रतिशतले बढी हाे। उक्त काराेबारबाट २ अर्ब १६ करोड ३८ लाख ६७ हजार ५६४ रुपैयाँ राजस्व संंकलन भएकाे छ।

कात्तिकमा काराेबार ३४.७ प्रतिशतले घटेकाे थियाे। असाेजमा देशभर ३९ हजार आठ सय ८१ संख्यामा घरजग्गा कारोबार भएकोमा कात्तिकमा उक्त संख्या घटेर २६ हजार ४६ संख्यामा सीमित भएकाे थियाे।

यसैगरी चालू आर्थिक वर्षकाे पहिलाे महिना साउनमा ३९ हजार २६३ संख्यामा घरजग्गा काराेबार भएकाेमा भदाैमा उक्त संख्या घटेर ३५ हजार ६८६ संख्यामा खुम्चिएकाे थियाे।