पुसमा ०.६८ प्रतिशतले घट्याे निक्षेपकाे ब्याज, कर्जाकाे पनि घट्ला?


काठमाडौं–  लगानीयोग्य रकम थुप्रिएपछि पुस महिनामा १८ वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्।

अधिक तरलता देखिएपछि बैंकहरूले ब्याजदर घटाएका हुन्। नेपाल राष्ट्र बैंककाे माैद्रिक नीति २०८०/८१ काे प्रथम त्रैमासिक समीक्षाले बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाइ ३.० प्रतिशतमा झारेका कारण पनि बैंककाे ब्याजदर घटेकाे हाे।

पुसमा समग्र वाणिज्य बैंककाे औसत मुद्दती निक्षेपमा ब्याजदर ८.९६ रहेकाे छ । मंसिरमा यस्तो ब्याजदर औसत ९.६१ थथियाे ।यसरी हेर्दा मंसिरकाे तुलनामा यस महिना मुद्दती निक्षेपमा ०.६८ प्रतिशत ब्याजदर घटेकाे छ ।

एनआईसी एसिया बैंकले मुद्दती निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि अधिकतम् ८.६७ प्रतिशत, व्यक्तिगत मुद्दती निक्षेपमा ८.६७ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा र ९ प्रतिशत र न्युनतम ब्याजदर ७ देखि ९ प्रतिशत कायम गरेको छ। यस्तै संस्थागत मुद्दति निक्षेपको ब्याजदर न्युनतम ६ प्रतिशतदेखि अधिकम् ७ प्रतिशतसम्म निर्धारण गरेको छ।

कुमारी बैंकले ६ महिनादेखि एक वर्षको मुद्दती निक्षेपमा ९.०१ र १ वर्षभन्दा बढीको मुद्दति निक्षेपमा ९.६१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। सांग्रिला बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ९.५५ र संस्थागततर्फ ७.५५ प्रतिशत, साधारण बचत खातामा न्यूनतम ५.६ प्रतिशतदेखि अधिकतममा ७.६ ब्याजदर कायम गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

यस्तै नेपाल एसबीआई बैंक र माछापुच्छ्रे  बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६ प्रतिशत, प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दतिमा अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत तथा स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५६ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याज ताेकेका छन्।

नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत निर्धारण गरेकाे छ।

ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६ तथा लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेका छन्।

यसैगरी हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.२५ र संस्थागततर्फ ८.२५ प्रतिशत र एभरेस्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याज ताेकेका छन्।

नेपाल बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५५ र संस्थागततर्फ ६.५५ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३५ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत र कृषि विकास बैंकमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.०१ प्रतिशत र संस्थागततर्फ ७.०१ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजदर स्थिर राखेका छन्। उनीहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने जनाएका छन्।

बैंकहरूले निक्षेपकाे ब्याजदर घटाएसँगै आम सर्वसाधारणकको चासो कर्जाको ब्याजदर घट्छ वा घट्दैन भन्नेमा छ । सामान्यतया निक्षेपकाे ब्याजदर घटेसँगै यसकाे प्रत्यक्ष असर कर्जाकाे ब्याजदरमा पनि पर्छ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्ला केही महिनायता कर्जाकाे ब्याजदर घट्दै गएकाे बताए ।

उनका अनुसार मंसिरमा पनि सबै वाणिज्य बैंकले निक्षेपकाे ब्याजदर घट्दा कर्जाकाे ब्याजदर पनि बैंकहरूले घटाएका थिए ।आगामी दिनमा कर्जाको ब्याजदर अझै घट्नसक्ने उनले बताए ।