काठमाडाैं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ४ महिनाकाे आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन्। तथ्यांकअनुसार कात्तिक महिनामा महँगी गत वर्षकाे यही अवधिकाे तुलनामा घटेकाे छ।
केन्द्रीय बैंकका अनुसार कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१
प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ।
यस्तै कुल विदेशी विनिमय सञ्चिति पनि सकारात्मक देखिएकाे छ। असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ कराेड रूपैयाँ रहेकाे विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तसम्म १० दशमलव २ बिन्दुले वृद्धि भइ कात्तिक मसान्तसम्म १६ खर्ब ९६ अर्ब ७८ कराेड रूपैयाँ पुगेकाे सर्वेक्षणले देखाएकाे छ। यसले १३.६ महिनाकाे आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
यस्तै यस अवधिमा आयात र निर्यात दुवै घटेको छ। केन्द्रीय बैंकका अनुसार आयात ३.८ प्रतिशत र निर्यात ७.७ प्रतिशतले घटेकोकाे छ। कुल व्यापार घाटा ३.३ प्रतिशतले घटेको देखिएकाे छ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २६.४ प्रतिशतले र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.१४७ अर्ब ११ करोडलेबचतमा रहेको छ ।
यसैगरी ४ महिनामा नेपाल सरकारको खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड रूपैयाँ रहेकाे छ। राजस्व परिचालन २ खर्ब ७६ अर्ब ६४ करोड रहेको छ।
विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेकोमा वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.४ प्रतिशत रहेको छ।



About Us
प्रतिक्रिया