ज्योति विकास बैंकद्वारा स्वास्थ्य चौकीहरूलाई बेबी वार्मर प्रदान


काठमाडाैं- ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकी र नुवाकोटस्थित खड्ग भञ्ज्याङ स्वास्थ्य चौकीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर न्यानो नानी प्रदान गरेको छ।

बैंकका प्रमुख ढकालको उपस्थितिमा कार्यक्रम आयोजना गरि बेबी वार्मर हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ। नवजात शिशु र विशेष गरी निरन्तर नर्सिङ सहयोग आवश्यक पर्ने गम्भीर रुपमा बिरामी शिशु तथा चिसो वातावरणमा उपचार भइरहेका शिशुलाई अल्पतापबाट जोगाउन प्रयोग हुने उक्त बेबी वार्मर मेसिनहरू बैंकको सुर्खेत शाखा र रातमाटे शाखा कार्यालयको पहलमा प्रदान गरिएको हो।

स्वास्थ्य चौकी जर्बुटामा आयोजित कार्यक्रममा बैंकका प्रमुख ढकालले स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट अमर सुनार र वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ सुर्खेतका वडा अध्यक्ष दिपेन्द्र राज कोइरालालाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरेका हुन। खड्ग भञ्ज्याङ स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरूबाट स्वास्थ्य चौकीका पदाधिकारीहरू लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको हो।

साथै, सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरूलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियर मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो। नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेसिनबाट नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नं. ३ स्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकी र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ स्थित जर्बुटा स्वास्थ्य चौकीमा प्रसूति सेवा लिन आउने सेवाग्राही प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याइ समाज प्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ। ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।