काठमाडाैं- अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको दाेहाेर्याएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको र अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताए।
‘अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ, हामीले छलफल गरेर मौद्रिक नीतिमा पनि केही लचिलो बनाउन प्रयत्न गरेका छौं, विस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जानेछ,’ उनले भने, ‘श्रमिककको माग पनि वृद्धि हुँदै जानेछ, श्रमिकहरु विस्थापित हुने अवस्था अन्त्य हुनेछ।’
विगतदेखि नेपालको अर्थतन्त्र समस्यामा रहेकाे बताउँदै उनले अहिले सरकार ती समस्या हटाउन लागिरहेकाे उनकाे भनाइ थियाे।
उनले बेरोजगारहरुलाई पनि रोजगारको अवसर सिजना गर्न ट्रेड युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा संवादमार्फत् एकअर्कालाई बुझ्नुपर्ने र सम्बन्धलाई सुमधुर बनाउनु पर्ने धारणा उनले राखे।
बाहिरबाट आयात हुने सामानको तुलनामा नेपालमा उत्पादन हुने औद्योगिक सामानको लागत कम गर्न नसकिएको उल्लेख गर्दै सक्रिय श्रमिकहरुको क्षमतालाई प्रोत्साहन गर्न पनि नसकिएको धारणा राखे। उनले उत्पादकत्व कम हुँदा समयसापेक्ष श्रमिकको पारिश्रमिक बढ्न नसकेको धारणा व्यक्त गरे।
‘उत्पादकत्व बढाउने हाम्रो चुनौती छ, यसका लागि पूर्वाधारको विकास आवश्यक छ’, उनले भने।
उनले सरकारको प्राथमिकता पूर्वाधार विकासमा रहेको बताए। यातायातको लागत कम गर्न र कामदारहरुको ज्ञान तथा क्षमताको सही उपयोग हुन आवश्यक रहेकामा जोड दिँदै लागत कम गर्ने कुरामा उद्योगी व्यवसायीले नयाँ प्रविधि उपयोग गर्नुपर्ने र श्रमिकका सङ्गठनहरुले पनि श्रमिकको क्षमता अभिवृद्धिमा लाग्नुपर्नेमा ध्यानाकर्षण समेत उनले गराए।



About Us
प्रतिक्रिया