मौद्रिक नीतिको समीक्षापछि घरजग्गा कारोबार र शेयर बजार बढ्न थालेको छः अर्थमन्त्री महत


काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीतिको प्रथम समीक्षाले अर्थतन्त्रमा सकारात्मक परिवर्तन देखिएको बताएका छन्।

मौद्रिक नीतिमा गरिएको परिवर्तनले बैंक तथा वित्तीय संस्थामा सकारात्मक प्रभाव परेको र घरजग्गा कारोबार तथा शेयर बजार बढ्न थालेको उनको भनाइ थियो।

बुधबार अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले मौद्रिक नीतिमा गरिएको परिवर्तनको सकारात्मक असर विस्तारै अर्थतन्त्रमा पर्न थालेको बताए।

आर्थिक सूचकहरु सकारात्मक हुँदै गएको बताउँदै उनले परिणाम देखिन केही समय लाग्ने बताए।

यसैगरी उनले ऋण लिने र दिने दुवै पक्षका कमजोरी रहेको पनि उल्लेख गरेका छन्। कोभिडमा उद्योग कलकारखानाका लागि भनेर सस्तोमा ऋण लिइ अन्य क्षेत्रमा लगानी गरेको आरोप उनको थियो।

बैंक तथा वित्तीय संस्थाले पनि माग आए जति रकम ऋणका रुपमा बाँडेको बताउँदै उनले यो प्रवृत्तिले अर्थतन्त्रमा समस्या आएको बताए।